घटाल बहुमुखी क्याम्पसमा बीमा सचेतना तथा प्रवर्द्धनात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न
सुडा, कञ्चनपुर, २०८३ असोज २२ गते नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढी, कैलालीको आयोजनामा कञ्चनपुरको सुडास्थित श्री घटाल बहुमुखी क्याम्पसमा शिक्षक तथा विद्यार्थीसँग बीमा प्रवर्द्धनात्मक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिक्षक तथा विद्यार्थी गरी १२४ जनाको सहभागिता रहेको थियो। नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालय, कैलालीको आयोजनामा सम्पन्न कार्यक्रममा प्राधिकरणका सहायक निर्देशक श्री लायक राम चौधरीले बीमासम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो। उहाँले बीमाको महत्त्व, जोखिम व्यवस्थापनमा यसको भूमिका, नेपालमा बीमा व्यवसायको अवस्था तथा बीमा क्षेत्रको नियमन र विकासका लागि प्राधिकरणले गर्दै आएका कार्यहरूबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।
कार्यक्रममा जीवन, निर्जीवन, लघु तथा कृषि बीमाका प्रावधान, सम्पत्ति बीमा गर्ने प्रक्रिया र यसको महत्त्व, बीमा दाबी भुक्तानी तथा बीमा अभिकर्ताको भूमिकाबारे विद्यार्थी तथा शिक्षकहरूले जिज्ञासा राखेका थिए। साथै, बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र प्राप्त गर्ने प्रक्रिया तथा बीमा क्षेत्रमा रोजगारी र व्यावसायिक भविष्य निर्माणका सम्भावनाबारे समेत छलफल भएको थियो।
अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले बीमा अभिकर्तासम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रममा सहभागी हुने इच्छा समेत व्यक्त गरेका थिए।कार्यक्रमले विद्यार्थी तथा शिक्षकहरूमा बीमासम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै बीमाको आवश्यकता, उपयोगिता र बीमा क्षेत्रमा उपलब्ध सम्भावनाबारे जानकारी प्रदान गरेको छ। यस्ता कार्यक्रमले युवा पुस्तामा बीमासम्बन्धी सचेतना बढाउन र समाजमा बीमाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।