Notice

हुलदङ्गाको कारणले भएको बीमा दावीको विवरण जेठ २८ गतेसम्म।     बाढी तथा पहिरोबाट उत्पन्न दावी र भुक्तानीको विवरण जेठ २८ सम्म।     विदेशी पुनर्बीमा दलालको कार्यालय स्थापना गर्ने सम्बन्धमा     Guide to Supervisory Intervention Framework 2024     कृषि तथा पशुपन्छी बीमा प्रणालीको प्रयोगकर्ता म्यानुअल।     According to the Insurance Act 2079, the insurance nature of the business need to be registered in Nepal Insurance Authority.    

News and Events

News and Events Details

news-img
2025-06-17

आरबीसी कार्यान्वयनको एक वर्ष सम्बन्धी अन्तक्र्रिया

नेपाल बीमा प्राधिकरणको आयोजनामा आज काठमाडौंमा नेपाली बीमा उद्योगमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनको एक वर्ष ः प्रगति, चुनौती र आगामी मार्ग सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । 

बीमा उद्योगमा आरबीसी कार्यान्वयनको एक वर्षको अवधिमा हासिल भएका प्रगति, आइपरेका चुनौती र आगामी मार्गका सम्बन्धमा विस्तृत छलफल गरी बीमकहरूका राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरूका आरबीसी सम्बन्धी प्रतिवेदनहरू त्रैमासिक रूपमा विश्लेषण गर्ने प्रक्रिया प्राधिकरणले शुरू गर्ने जानकारी दिनुभयो । 

अध्यक्ष ओझाले भन्नुभयो, ‘‘बीमा कम्पनीहरूको वित्तीय विवरण पुस मसान्तभित्र स्वीकृत हुनुपर्छ भन्ने बीमा ऐनको बाध्यकारी व्यवस्था हो, ऐन बमोजिम पुस मसान्तभित्र वित्तीय विवरण स्वीकृत गराउने प्राधिकरणको प्रयास हो, यो प्रयासमा सहजीकरण गर्न प्राधिकरणको टिम तयार छ, बीमा कम्पनीहरूले पनि समयमैं वित्तीय विवरण स्वीकृत हुने गरी कार्य अगाडि बढाउनुपर्छ, समयमै विवरण बुझाउँदा बीमकलाई नै राम्रो हुन्छ ।’’

बीमा कम्पनीहरूले उचित प्रतिफल सुनिश्चित हुने गरी ठीक किसिमले लगानीको प्रस्ताव गर्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै अध्यक्ष ओझाले भन्नुभयो, ‘‘बीमा कम्पनीहरूले लगानी विविधीकरण गर्नुपर्छ तर ठीक ठाउँमा, कम्पनीहरूबाट प्रतिफल सुनिश्चित हुने गरी वास्तविक क्षेत्रमा ठीक तरिकाले लगानीको प्रस्ताव आउनुपर्छ, लगानीको प्रस्ताव गर्नुअघि कम्पनीका लगानी समितिले पर्याप्त अध्ययन विश्लेषण गर्नुपर्छ, जनताको पैसा सुरक्षित हुनुपर्छ ।’’

हाम्रो देश जस्ता देशहरूको अभ्यासलाई हेरेर क्यापिटल चार्जको व्यवस्था गरिएको र यो बढी भएमा समयानुकूल सुधार गर्न प्राधिकरण तयार रहेको जानकारी दिनुहुँदै  अध्यक्ष ओझाले बीमा उद्योगले सरकारले जारी गर्ने ऋणपत्रमा लगानी गर्न प्रयास शुरू गर्नुपर्ने र त्यसका लागि छुट्टै संयन्त्रक आवश्यक पर्ने बताउनुभयो ।

अध्यक्ष ओझाले प्राधिकरणले सबै निर्देशिकाहरूलाई एकीकृत गरी परिमार्जन गर्न लागिरहेको उल्लेख गर्नुहुँदै त्यसमा बीमकहरूबाट सुझावहरूको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले आरबीसी कार्यान्वयन हाल संक्रमणको अवधिमा रहेको उल्लेख गर्नुहुँदै जोखिम न्यूनीकरण गर्ने साझा उद्देश्य प्राप्तिमा दृढताका अगाडि बढ्न बीमा कम्पनीहरूसँग आग्रह गर्नुभयो ।

नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुंगेल अधिकारीले सबैजसो बीमकले आरबीसीको टार्गेट पूरा गरेको बताउनुभयो ।

नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेल तथा नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र बैदवारले बीमा उद्योगमा आरबीसी कार्यान्वयन ठूलो उपलब्धी भएको बताउनुहुँदै आगामी दिनमा यसलाई अझ परिस्कृत गर्दै अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो  ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मला मल्लले आरबीसी कार्यान्वयनका प्रगति, विद्यमान चुनौती र आगामी मार्ग सम्बन्धी प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा आरबीसी फोकल पर्सनहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक करूणा थापाले गर्नुभएको थियो ।